सुर्खेत । यही असार ९ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वर्षदेखि ११ वर्ष मुनिका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइने भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार जिल्लाका ५ वर्षदेखि ११ बर्ष मुनिका ४९ हजार ६१९ जना बालबालिकालाई फाइजर खोप लगाइनेछ ।
कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले ५ वर्षदेखि ११ वर्ष मुनिका बालबालिकालाई लगाइने फाइजर खोप कर्णाली प्रदेशको सुर्खेतमा मात्रै यही असार ९ गतेदेखि लगाउने तयारी भइरहेको बताए । उनले त्यसका लागि जिल्लाका सवै स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिइसकिएको उल्लेख गरे । अहिले असार ९ गतेदेखि १५ गतेसम्म विद्यालयमै बालबालिकालाई खोप लगाइनेछभने छुटेकालाई अन्तिम दिन स्वास्थ्य केन्द्रमा खोप लगाइने जानकारी उनले जानकारी दिए ।
पहिलो खोप लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ । कार्यालयको तथ्यांक अनुसार जिल्लाको कूल जनसंख्या ३ लाख ६१ हजार ८३५ मध्ये ५ वर्षदेखि ११ वर्ष मुनिका बालबालिकाको संख्या ४९ हजार ६१९ रहेको छ । यही संख्यालाई फाइजर खोप लगाइनेछ ।
जसमध्ये बराहताल गाउँपाकिलामा चार हजार २४ जना, भेरीगंगा नगरपालिकामा ६ हजार ६९ जना, वीरेन्द्रनगर नगरपालिकामा ११ हजार ५५२ जना, चौकुने गाउँपालिकामा चार हजार ४७६ जना बालबालिकालाई फाइजर खोप लगाइनेछ ।
यस्तै चिंगाड गाउँपालिकामा ३ हजार १६ जना, गुर्भाकोट नगरपालिकामा ६ हजार ६७५ जना, लेकबेसी नगरपालिकामा ४ हजार ३३८ जना, पंचपुरी नगरपालिकामा ५ हजार ४४७ जना र सिम्ता गाउँपालिकामा ४ हजार २४ जना बालबालिकालाई खोप लगाइने कार्यालयले जनाएको छ ।
तोकिएको उमेर समूहका बालबालिकाहरुलाई अनिवार्यरुपमा खोप लगाइ रोगविरुद्ध ढुक्क हुन आग्रह गरिएको छ ।
खोप समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले तोकिएको उमेर समूहका बालबालिकालाई खोप लगाउन सम्पूर्ण क्षेत्रले प्रेरित गर्न आग्रह गरे ।