सुर्खेत । कर्णाली प्रदेशमा गणतन्त्र दिवस मनाइएको छ। प्रदेश सरकारले आज १५ औं गणतन्त्र दिवस मनाएको हो। प्रदेश राजधानी वीरेन्द्रनगरस्थित सिटीहलमा गणतन्त्र दिवस समारोह आयोजना गरी दिवस मनाइएको हो।
आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख तिलक परियारले संविधानबाटै प्राप्त अधिकार र उपलब्धीको प्रयोग र थप विकास गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गरोस् भन्ने प्रेरणासहितको शुभकामना व्यक्त गरे।
कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन व्यवस्थामा व्यक्ति सबैभन्दा महत्वपूर्ण हुने बताए। उनले कर्णाली, भेरी, तीला नदी प्रदेशभित्र बग्नु र हामी अँध्यारोमा बस्नुको दोष अरूलाई दिन नहुने बताए।
‘यो प्रदेशभित्र कर्णाली, भेरी र तीला नदी बग्नु र हामी अँध्यारोमा बस्नुको दोष अरुलाई दिन मिल्दैन । ‘यसका दोषी हामी नै हौं।’ मुख्यमन्त्री शाहीले भने। कर्णालीको अथाह प्राकृतिक सम्पदा हुँदा पनि गरिबीको बिल्ला भिर्नुपरेको यथार्थलाई चित्रण गर्दै आगामी दिनमा यसको सर्वागिंण विकासका लागि एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।
यस्तै, कार्यक्रममा सभामुख राजबहादुर शाहीले मुलुकको शासन व्यवस्थाबाट जनताले समृद्धिको अपेक्षा गरेको बताए। ‘विकसित मुलुकमा भएको विकास बमोजिम जनताका अपेक्षा बढेका छन्। यी अपेक्षा पूरा गर्नु तीन तहका सरकारदेखि नागरिक तहसम्म सचेत सजग भएर जिम्मेवारी वहन गर्न सक्नु पर्छ।’ सभामुख शाहीले भने, ‘अन्य मुलुकको शासन व्यवस्था जस्तो हाम्रो व्यवस्था होइन । विभिन्न विशेषताले युक्त संघीय लोकतान्त्रिक गणतन्त्र हो। शान्तिपूर्ण ढंगले प्राप्त गरेको यो व्यवस्थालाई कार्यान्वयनमा अब्वल बनाउनु पर्दछ।’
समाराेहमा प्रदेशस्थित प्रदेश सभा सदस्य, सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख, प्रदेशका सचिव, वीरेन्द्रनगर नगरपालिका प्रमुख, सुरक्षा निकायका प्रमुख, अन्य कर्मचारी, नागरिक समाज लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा दिवसका अवसरमा शुभकामना आदान–प्रदान गरिएको थियो।
गणतन्त्र दिवसका अवसरमा वीरेन्द्रनगरमा विहान प्रभातफेरी कार्यक्रमको आयोजना समेत गरिएको थियो।