काठमाडौँ । हराएकाे तारा एअरकाे हराएकाे विमान मुस्ताङकाे लेते आसापासमा दुर्घटना भएकाे खबर प्राप्त भएकाे छ । त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई खबर प्राप्त भएकाे नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।
उनले दुर्घटनाकाे स्थलगत पुष्टि गर्नका लागि सेनाको टोली पैदल मार्गबाट गएको बताए ।
तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको बताएका छन् । ‘नागरिक उड्ययन प्राधिकरणबाट स्थानीयले खबर गरेको भनेर मुस्ताङको लेतेको आसपासमा नौलीकोट भन्ने ठाउँमा घटना भएको भन्ने खबर आएको छ । हाम्रो त्यहाँ नजिकको घाँसामा सेनाको पोष्ट छ । त्यहाँबाट फिजिकल्ली कन्फर्मेसन गर्नका लागि पैदल मार्गबाट सेना गएका छन्,’ प्रवक्ता सिलवालले भने ।
पोखराबाट जोमसोमका लागि उडेको उक्त जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना रहेका छन् ।
पोखरा विमानस्थलले उपलब्ध गराएको यात्रु विवरणमा १६ नेपाली र ६ विदेशी रहेका छन् । विमान आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो ।