काठमाडाैं । सरकारले नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन सम्बन्धमा ७५३ वटै पालिकाका प्रमुख र उपप्रमुखहरुलाई तालिम दिन लागेको हो ।
स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने तालिमका लागि मन्त्रालयले महानगर, उपमहानगर र नगरपालिका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई एकमुष्ठ पत्र पठाएको छ ।
मन्त्रालयले प्रदेशअनुसार तालिमको मिति तय गरेको छ । प्रदेश १ र सुदूरपश्चिमका जनप्रतिनिधिलाई जेठ २५ र २६ गते, मधेस, गण्डकी र कर्णाली प्रदेशका जनप्रतिनिधिलाई २७ र २८ गते तथा बाग्मती र लुम्बिनी प्रदेशका जनप्रतिनिधिलाई ३० र ३१ गते तालिमको मिति तोकिएको छ ।