सुर्खेत । कर्णाली प्रदेशका सबै स्थानीय तहमध्ये लछुमन गुरुङ ज्येष्ठ पालिका अध्यक्ष हुन् । विक्रम संम्वत २००३ साउन ६ गते जन्मिएका गुरुङ अहिले ७४ वर्ष पुगे ।
कर्णालीमा ७९ स्थानीय तह छन् । तीमध्ये ६० वर्षभन्दा माथी उमेर समूहका सात जना ज्येष्ठ नागरिक स्थानीय तह निर्वाचनबाट प्रमुख/अध्यक्षमा निर्वाचित भएका छन् ।
७४ वर्षीय गुरुङ दैलेखको महाबु गाउँपालिका अध्यक्ष निर्वाचित भए । सल्यानको कुमाख गाउँपालिका अध्यक्षमा ६६ वर्षीय मान बहादुर बुढाथोकी, मुगुको मुगुम कार्मारोंग गाउँपालिका अध्यक्षमा ६६ वर्षीय छिरिङ क्याप्ने लामा, जुम्लाको तिला गाउँपालिका अध्यक्षमा ६५ वर्षीय मोतिलाल रोकाय, दैलेखको डुंगेश्वर गाउँपालिका अध्यक्षमा ६१ वर्षीय सुन्दर कुमार केसी, दैलेखकै आठबीस नगरपालिका प्रमुखमा ६० वर्षीय तर्कबहादुर बडुवाल र डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्षमा ६० वर्षीय कार्मा छोइवेल गुरुङ निर्वाचित भएका छन् ।
को हुन् ज्येष्ठ अध्यक्ष गुरुङ ?
लछुमन गुरुङ साबिकको बडाखोला गाविस हाल महाबु गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन् ।
सामान्य लेखपढ भएका गुरुङसँग राजनीतिक अनुभव भने लामो छ । विक्रम संम्वत २०२६ सालमा २३ वर्षकै उमेरमा तत्कालीन बडाखोला गाउँपञ्चायतको प्रधानपञ्चको रुपमा निर्वाचित भए । उतिबेलादेखि नै जनप्रतिनिधीको भूमिकामा रहेका उनले २०३६ सालको जनमत संग्रहमा नेपाली कांग्रेस पार्टीको आधिकारीक टिकटबाट पुनः प्रधानपञ्च चुनिए । तत्कालीन समयमा पार्टीको टिकट पाउनेहरुमध्ये गुरुङ जिल्लामै एकमात्र उम्मेदवार थिए ।
साथै, गुरुङ विक्रम संम्वत २०४९ मा तत्कालीन बडाखोला गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भए । गुरुङ नेपाली कांग्रेसको १२, १३ र १४ औं महाधिवेशन प्रतिधिनिधी समेत हुन् । तिनै गुरुङ अहिले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए ।
गुरुङले दुई हजार नौं सय ७९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका हरि प्रसाद उपाध्यायले दुई हजार पाँच १९ मत पाएका छन् ।
उमेर ढल्किदै गएपनि पार्टी र जनताले दिएको अभिमतले महाबु गाउँपालिकाको विकास गर्ने उर्जा प्राप्त भएको अध्यक्ष गुरुङ बताउछन् ।
‘उमेर हदका कारण काम गर्न अप्ठेरो छ नै तैपनि जनताको अभिमतले उर्जा प्राप्त भएको छ । विकास निरन्तर भैरहने प्रक्रिया समेत हो । तर, यसलाई थप व्यवस्थित र दिगो बनाउन मेहेनत गर्ने छु’ अध्यक्षले गुरुङ भन्छन्, ‘महाबु गाउँपालिकाका जनतालाई सुखी र खुशी बनाउने जिम्मेवारी पूरा गर्न प्रतिवद्ध हुनेछु भन्नेमा विश्वस्त छु ।’
अध्यक्ष गुरुङ र गाउँपालिकाकी उपाध्यक्ष मन्जु पाण्डेले सोमबारै पदभार ग्रहण समेत गरेका छन् । पदभार ग्रहणसँगै उनले ज्येष्ठ नागरिकका लागि सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्तालाई वडा तहबाटै वितरण गरिने प्रतिवद्धता गरेका छन् ।
‘भत्ता बुझ्नकै लागि वृद्धवृद्धालाई बैंक धाउनुपर्ने दुःखलाई मेट्नका लागि वडा तहबाटै वितरण गर्ने प्रतिवद्धता गरिएको छ’ अध्यक्ष गुरुङ भन्छन्, ‘सम्बन्धित बैंकसँग समन्वय गरी प्रतिवद्धता कार्यान्वयन गरिनेछ ।’
साथै, अध्यक्ष गुरुङले ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका र अशक्त असहाय नागरिकको घरदैलोमा सामान्य प्राथमिक तहको उपचार गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् ।