सुर्खेत । दैलेखको दुल्लू नगरपालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । नवनिर्वाचित नगरप्रमुख भरतप्रसाद रिजालले शुक्रबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् ।
नगरप्रमुख रिजालसहित नगर उपप्रमुख बिना कार्कीले पदभार ग्रहण गरेकी छन् । दुल्लु नगरको प्रमुखमा नेपाली कांग्रेसबाट रिजाल र उपप्रमुखमा एमालेबाट कार्की निर्वाचित भएका हुन् ।
पदभार ग्रहण गर्दै नगरप्रमुख रिजालले नगरभित्रका नागरिकको सुरक्षित प्रसूति सेवा दिने उद्देश्यले दुल्लुबाट उपचारका लागि बाहिर लिनुपर्ने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका हुन् ।
‘नगरपालिका भित्रका गर्भवती र सुत्केरी तथा नवजात शिशुको अकालमा ज्यान सक्ने अवस्था विद्यमान छ। सुरक्षित प्रसुती सेवा प्रदान गर्ने शिलशिलामा दुल्लु अस्पतालबाट प्रदान हुने सेवा अप्रयाप्त तथा सुरक्षित हुन नसक्ने अवस्थामा दैलेख जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेतलगायत आवश्यकता अनुसार उच्च तहको सेवा प्राप्त गर्न उपयुक्त अस्पतालमा त्यस्तो प्रकृतिका बिरामीहरूलाई लैजानु पर्ने आकस्मिक अवस्था सृजना भएमा यातायात खर्च स्वरूप एम्बुलेन्स सेवा निःशुल्क गरिनेछ,’ निर्णयमा भनिएको छ ।
गर्भवती तथा सुत्केरी महिलाहरूलाई उपचारका लागि दुल्लु क्षेत्र भन्दा बाहिर लिनुपर्ने अवस्थामा दुल्लु अस्पतालको सिफारिसमा एम्बुलेन्स सेवा प्रयोगगरी बिरामीलाई दुल्लु अस्पताल भन्दा बाहिर लैजाँदा प्रयोग हुने एम्बुलेन्स सेवा निःशुल्क गर्ने गरी नगरप्रमुख रिजालले पहिलो निर्णय गरेका हुन् ।
नगरप्रमुख रिजालले नगरपालिकाको आन्तरिक स्रोतबाट आर्थिक व्यवस्थापन गर्ने गरी उक्त निर्णय गरिएको बताए । स्थानीय सरकार गाउँका गरिब जनताका लागि भएकाले आफूले पहिलो निर्णय गर्भवतीलाई निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेको रिजालको भनाइ छ ।
यो निर्णयसंगै नगर क्षेत्रका गर्भवती र सुत्केरी महिलाहरूलाई लाभ हुने नगर उपप्रमुख बिना कार्कीले बताईन् ।