दैलेख (महाबु) । दैलेखको महाबु गाउँपालिकाको तीन वडाको मतगणना सकिएको छ । ६ वडा रहेको महाबुमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक/एक वडा विजय हासिल गरेका छन् ।
नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रबीच गठबन्धन गरी चुनावी तालमेल भएपनि एकिकृत समाजवादीले भने विजय हासिल गर्न सकेको छैन ।
महाबु गाउँपालिका–१ मा नेकपा एमालेका सर्वराज सार्की विजय भएका छन् । उनले ६ सय ९२ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सूर्यराम सावदले ६ सय ३६ मत प्राप्त गरे ।
यसैगरि नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ मत र राप्रपाका गगन बहादुर थापाले ११ मत प्राप्त गरे ।
महाबु गाउँपालिका –१ को महिला सदस्यमा एमालेबाट सरस्वती रोकाय, दलित महिला सदस्यमा हरिकला सुनार, सदस्यमा जय बहादुर गुरुङ्ग र बलबहादुर वयक विजय भएका छन् । यो वडामा नेकपा एमालेको प्यानल विजय भएको हो ।
यस्तै, प्राप्त मत परिणाम अनुसार महाबु गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाशराज थापा विजय भएका छन् । उनले आठ सय ४८ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका तिर्थबहादुर रावतले चार सय ९९ मत र नेकपा एकिकृत समाजवादीका भक्त बहादुर खत्रीले १२ मत प्राप्त गरे ।
महाबु गाउँपालिका–२ मा महिला सदस्य पदमा बसन कुमारी खत्री, दलित महिला सदस्यमा पशुपति सुनार र सदस्यमा चक्र बहादुर बडुवाल र रामकृष्ण गुरुङ्ग विजय भए । यो वडामा नेपाली कांग्रेसको प्यानल विजय भएको हो ।
यस्तै, महाबु गाउँपालिका –६ मा नेकपा माओवादी केन्द्रका रेशम बहादुर थापा मगर विजय भए । उनले चार सय १२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हर्कबहादुर शाहीले तीन सय ९७ मत, एमालेका रक्ष बहादुर मगरले तीन सय ५९, नेमकिपाका राम बहादुर शाहीले १३ मत, राप्रपाका पदमबहादुर सिंहले ६ मत प्राप्त गरे ।
महाबु गाउँपालिका–६ को महिला सलदस्यमा नेपाली कांग्रेसबाट पवित्रा कुमारी गिरी, कांग्रेसकै नन्दाकुमारी विक र सदस्यमा कांग्रेसका नवराज जैशी र एकिकृत समाजवादीका दल बहादुर कामी विजय भए ।
गाउँपालिकाका अन्य तीन वडाकाे मत परिणाम आउन बाँकी रहेकाे निर्वाचन अधिकृत विरेन्द्र केसीले जानकारी दिए । केसीका अनुसार अहिले वडा नं. ३ काे मत गणना भैरहेकाे छ ।