नविन शाही, सुर्खेत । स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता भैसकेको छ । आयोगले आज विहान १० बजे दिएको जानकारी अनुसार देशभर एक लाख ४१ हजार चार सय ६८ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचनमा तालमेल गर्न दलहरुले गठबन्धन गरेपनि अधिकांश स्थानीय तहमा आ आफ्नै दलका तर्फबाट उम्मेदवारी परेको छ भने एमाले सहितका अन्य दलहरुले पनि उम्मेदवारी दिएका छन् ।
कर्णाली प्रदेशमा १० जिल्लामध्ये आठ जिल्लामा गठबन्धनको भागबण्डा मिलेको थियो भने सुर्खेत र रुकुम पश्चिममा गठबन्धन हुन सकेको छैन । भागबण्डामा कुरा मिलेपनि दलहरुले आ आफ्नै दलका तर्फबाट उम्मेदवारी दिएपछि गठबन्धन मर्मविपरित भएको देखिएको छ ।
भागबण्डाको सहमति भैसकेका पालिकामा गठबन्धनको निर्णय विपरित उम्मेदवारी दिनेलाई दलहरुले अनुशासनको कारबाही गर्ने निर्णय समेत भएको छ ।
गठबन्धनको भागबण्डा विपरित उम्मेदवारी दिएका पालिकामा दलहरुले आ आफ्ना उम्मेदवारी फिर्ता बोलाउन सक्ने मार्ग देखिन्छ ।
स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ५१ (४) बमोजिम कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारले दफा ३७ को उपदफा १ बमोजिम तोकिएको त्यस्तो दलको पदाधिकारीले उम्मेदवारको नाम फिर्ता लिने गरी निर्वाचन अधिकृतलाई निर्वाचन कार्यक्रममा उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयभित्र लेखी पठाएमा उम्मेदवारको रुपमा कायम नराख्ने व्यवस्था उल्लेख गरिएको छ ।
यस्तो अवस्थामा उम्मेदवार स्वयंम्ले उम्मेदवारी फिर्ता लिन नचाहेपनि दलको पत्रका आधारमा उम्मेदवार कायम रहन सक्दैन ।
स्वतन्त्र उम्मेदवारीकाे हकमा भने उम्मेदवार स्वंयमले मनाेनयन फिर्ता लिनुपर्ने हुन्छ ।
निर्वाचन कार्यतालिका अनुसार बैशाख १६ गतेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।