सुर्खेत । कर्णाली प्रदेशमा भागबण्डाको टुंगो लगाउन सत्तारुढ गठबन्धन दलहरुको बैठक जारी छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको भागबण्डा आजै मिलाउन दलहरुको बैठक बसेको हो ।
जारी बैठकबाट गठबन्धन दलभित्रका पार्टीहरुबीच कुन पालिका कसले पाउने भन्ने अन्तिम टुंगो लाग्ने जनाइएको छ ।
‘बैठक चलिरहेको छ । कुन पार्टीले कुन पालिका भागबण्डामा पाउने भन्ने टुंगो लगाउने कसरत चलिरहेको छ,’ स्रोतले भन्यो, ‘भागबण्डाका विषयमा आज अबेरसम्मै भएपनि अन्तिम टुंगाे लाग्ने छ ।’
दलहरुको बैठक मुख्यमन्त्री जीवन बहादुर शाहीकाे निवासमा चलिरहेको छ । बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी र कृष्णबहादुर रोकाय, माओवादी केन्द्रका तर्फबाट विमला केसी र गोपाल शर्मा उपस्थित छन् ।
यस्तै, नेकपा एकिकृत समाजवादीबाट प्रकाश ज्वाला, चन्द्रबहादुर शाही लगायतका शिर्ष नेताहरुको उपस्थिति रहेको छ ।
आज जारी बैठकले पालिकाहरुको भागबण्डा टुंगो लगाएपछि सम्बन्धित पार्टीपंक्तिले उम्मेद्वारहरुको टुंगो लगाउने जनाइएको छ ।