काठमाडाैं । पर्यटन प्रवद्र्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जीपलाइन सञ्चालन गरिएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जीपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो ।
इच्छाकामनाका अध्यक्ष गीताकुमारी गुरुङ र गण्डकीका अध्यक्ष होमबहादुर राना मगरले संयुक्तरूपमा जीपलाइनको उद्घाटन गरेका छन् ।
जीपलाइनले इच्छाकामनाको पर्यटकीयस्थल लामो झरना, इच्छाकामना मन्दिर, सिराइचुली, उपर्दाङगढी, त्रिशूली नदी -याफ्टिङ समेट्ने छ भने, यहाँ आउने पर्यटक माथितिरका अन्य पर्यटकीयस्थलको भ्रमण गर्ने र माथिबाट आएर गण्डकी गाउँपालिकाको पर्यटकीयस्थलको अवलोकन गर्न जाने हुँदा जीपलाइन सञ्चालनसँगै आर्थिक समृद्धिका लागि व्यावसायिकरूपमा साथै हरेक कुरामा टेवा पुग्ने विश्वास गरिएकाे छ ।