सुर्खेत । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा जाजरकोटमा सत्ता गठबन्धन दलहरूबीच तालमेल हुने भएको छ।
आइतबार सत्तारूढ दलका जिल्लास्थित प्रमुखहरूबीच तालमेल गरी स्थानीय तह निर्वाचनमा सहभागी हुने सहमति भएको हो।
अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै सत्ता गठबन्धन दलको चैत १७ गतेको बैठकको परिपत्र अनुसार यो निर्णय गरिएको जिल्लास्थित दलका प्रमुखहरूले संयुक्त वक्तव्य निकालेर जानकारी गराएका छन्।
जिल्लामा गठबन्धनको आवश्यकता र अवस्थाका आधारमा गठबन्धनलाई निरन्तरता दिन तालमेल आवश्यक भएको संयुक्त वक्तव्यमा उल्लेख छ।
स्थानीय तहको निर्वाचनमा जिल्लामा क्रियाशील रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
गठबन्धनको कामकारबाही व्यवस्थित बनाउन तथा चुनावको आवश्यक तयारीका लागि गठबन्धन दलका प्रमुखसहित एक दलबाट ३ जना सहभागी हुनेगरी जिल्लास्तरीय संयन्त्र बनाउने, पालिकास्तरमा सत्ता गठबन्धनको मर्ममा खलल पर्नेगरी कुनै पनि गतिविधि सञ्चालन नगर्न निर्देशन दिने, पालिकाहरूमा जिल्लाकै अभ्यासअनुसार समन्वय बैठक बसी माथिल्लो निकायमा जानकारी गराउने निर्णय जिल्लास्थित गठबन्धन दलका प्रमुखहरूको बैठकले गरेको छ।