सुर्खेत। वीरेन्द्रनगरमा काँक्रेविहार, देउती बज्यै, बुलबुले ताल, घण्टाघर जस्ता पर्यटकीय महत्वका क्षेत्रहरु छन् । यीसँगै पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, टिकटकका कारण पातल दरबार, शहिद पार्क, भानु स्मृति पार्क, भाइरल रोडजस्ता क्षेत्रहरुले निकै चर्चा पाए । तर, कर्णालीको इतिहास र संस्कृतिलाई समेटेर राखिएको संग्रहालय भने पर्यटकको महत्वमा पर्न सकेको छैन ।
वीरेन्द्रनगरमा अवस्थित संग्रहालय पर्यटकलाई पर्खिरहेको छ । कर्णालीको सांस्कृतिक तथा ऐतिहासिक सामाग्री राखिएका ‘प्रदेश संग्रहालय’ पर्यटकको महत्वमा पर्न नसकेको हो ।
केहि वर्ष पहिले संग्रहालयमा दैनिक २५ जना आन्तरिक तथा वाह्य पर्यटकहरु अवलोकनका लागि पुग्थे । तर वर्तमान समयमा भने यो संख्या एकदमै न्यून अवस्थामा रहेको छ । त्यसो त पहिलेको समयमा पनि यो संग्रहालयले उल्लेखनिय संख्यामा पर्यटक तान्न भने सकेको छैन ।
यहाँको परम्परागत लोक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्ने उद्देश्यले सुर्खेतमा संग्रहालय स्थापना गरिएको हो । २०५७ साउन २ गते तत्कालीन क्षेत्रीय संग्रहालयको रुपमा स्थापना गरिएकोमा संघीयतापछि २०७५ असोज ५ गतेदेखि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्र्तगत ‘प्रदेश स्रग्रहालय’मा रुपान्तरण गरिएको छ ।
प्रदेश संग्रहालयको अवलोकनबाट कर्णालीको लोक संस्कृतिको विषयमा अध्ययन अनुसन्धान, शिक्षा प्राप्त र मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।
संग्रहालयमा कर्णाली प्रदेशमा विद्यमान इतिहास संस्कृति र पुरातत्वसँग सम्बन्धित बस्तुहरु दुई वटा प्रदर्शनी भवनमा राखिएको छ । जसअनुसार पहिलो कक्षमा ईतिहास तथा संस्कृतिसँग सम्बन्धित बस्तुहरु रहेका छन् । यहाँ विभिन्न जातजाती मगर, थारु, राउटे, कुमालको संस्कृति झलन दर्शाउने मोडल अर्थात डायोरामा, महत्वपूर्ण गरगहना, परम्परागत भाडावर्तन, ऐतिहासिक हातहतियार, नापतौलका एकाइगत सामाग्री, विभिन्न मुल्य एवंम् तिथिक्रमका मुद्रा (रुपैयाँ) राखिएको छ ।
यस्तै, सोही कक्षमा परम्परागत बाजा, राउटे, मगर, थारु जातीका विभिन्न सांस्कृतिक, सामाजिक पक्षलाई झल्काउने खालका फोटो, काठको लह, नाउ, डुङ्गा प्रदर्शनीमा राखिएको छ ।
साथै, प्रदर्शनी भवनको दोस्रो कक्षमा काँक्रेविहारबाट प्राप्त पुरातात्विक वस्तुहरु, कलात्मक प्रस्तर मुर्तिहरु, फलामका प्राचीन हुक, माटाका भाँडाका टुक्रा, जुम्लाबाट प्राप्त माटोका चःचहरु रहेका छन् । यसैगरी सोही कक्षमा हिमाली भेगका लामाहरुको संस्कृति झल्काउने भेषभुषा, भाडावर्तन, कोल (काठको तोरी पेल्ने सामाग्री), मदुस, ढिकी, जातो, प्राचीन पानी घडी, थाङ्का, माझी जातीसँष् सम्बन्धित सामाग्रीहरु माछा मार्ने जाल, सुन चाल्न प्रयोग हुने काठका सामग्रीहरु लगायतका वस्तुहरुको अवलोकन गरी अध्ययन अनुसन्धान गर्न सकिन्छ ।
संग्रहालयको प्रदर्शनीमा राखिएको यी वस्तुहरुको लोक संस्कृतिक ऐतिहासिक विषयमा अनुसन्धान गर्न सहज हुने जानकारहरु बताउछन् । संग्रहालयमा पुस्तकालय (लाइब्रेरी), भिडियो प्रदर्शनी कक्ष रहेका छन् ।
कर्णालीका विभिन्न जातजातीका वारेमा ईतिहास लेखिएका पुस्तक, कथा, कविता लगायतका सामाग्री पुस्ताकालयमा अध्ययन गर्न सकिन्छ । भने, भिडियो प्रर्दशनी कक्षमा कर्णालीको विषयमा निर्माण भएका विभिन्न डकुमेन्ट्री सामाग्रीहरु हेर्न सकिन्छ । विद्यार्थी, खोज अनुसन्धानका लागि अन्वेषक, ईतिहासकारमा रुची राख्नेहरुका लागि प्रदेश संग्रहालय विषेश हुनसक्ने बताइएको छ ।
साथै, संग्रहालयलाई कर्णाली प्रदेश सरकारले ‘प्रदेश अभिलेखालय’को रुपमा स्थापित गर्न थप व्यवस्थित लागेको प्रदेश संग्रहालयका प्रमुख अर्जुनबहादुर शाहीले जानकारी दिए । ‘प्रदेश सरकारले गरेको महत्वपूर्ण निर्णयको समेत अभिलेखीकरण गरी थप व्यवस्थित गर्न लागिएको छ’ प्रमुख शाहीले भने, ‘त्यसका लागि पुस्तकालय कक्षको निर्माण हुदैंछ ।’
उनका अनुसार पुस्तकालय (लाइब्रेरी) सञ्चालनमा आइसकेपनि थप व्यवस्थित गर्न लागिएको छ ।
दैनिक २५ जनाको अनुपातमा संग्रहालय अवलोकनकर्ता आउने गरेका थिए । तर, कोभिडको प्रकोपपछि भने पर्यटकको संख्या घटेको छ । कोभिड अघि वार्षिक १० हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको कार्यालय प्रमुख शाहीले जानकारी दिए ।
शााहीले पर्यटकको संख्या वृद्धिका लागि थप व्यवस्थापन गर्न लागिएको बताए । उनले प्रदर्शनी कक्षसँगै संग्रहालय परिसरमा गार्डेन, उद्यान लगायतका मनोरञ्जनात्मक क्षेत्रहरु निर्माण गर्न लागिएको जानकारी दिए ।
प्रदेश संग्रहालयका लागि जनशक्ति अभाव भएको छ । जनशक्ति अभाव हुँदा संग्रहालयका लागि थप सामाग्री संकलन गर्न कठिनाई भएको छ ।
संग्रहालयमा १३ जनाको दरबन्दी रहेको छ । जसमध्ये ७ जनामात्र कार्यरत छन् ।
दरबन्दी अनुसारको जनशक्ति नहुँदा कामकाजमा असहज भैरहेको संग्रहालयका प्रमुख अर्जुन बहादुरशाहीले बताए । यसका साथै स्रोत साधन संकलनका लागि संग्राहलयसँग आफ्नो यातायातको सुविधा छैन । जसकारण संग्रहालयका लागि सामाग्री संकलनमा असहज भएको छ ।